Rule 4
नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुन नेपालभित्र ल्याउने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था
(१) नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुन नेपालभित्र कुनै मालवस्तु ल्याउन चाहने मालवस्तुधनीले मालवस्तुकासाथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्तो प्रज्ञापनपत्रमा सो मालवस्तु पुन कुन भन्सार कार्यालयबाट नेपालभित्र ल्याइने हो सो समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापनपत्रउपर जाँचबुझ गर्दा नेपालको बाटोबाट मालवस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा छ र भन्सार प्रशासनका दृष्टिले पनि नेपालको बाटो प्रयोग गरी मालवस्तु लैजान मनासिव देखिएमा भन्सार कार्यालयको प्रमुखले विदेशको बाटो गरी मालवस्तु लैजान स्वीकृति दिने छैन ।
(३) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापनपत्रउपकर जा“चबुझ गर्दा नेपालको बाटोबाट मालवस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा नभएको र भन्सार प्रशासनका दृष्टिले विदेशको बाटो गरी मालवस्तु लैजान मनासिव देखिएमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो मालवस्तुमा लाग्ने भन्सार महसुलको लगत राखी वा भन्सार महसुल धरौटी लिई त्यस्तो मालवस्तुको विवरण खुलाई भन्सार कार्यालयको सील लगाई सो मालवस्तु नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुन नेपालभित्र ल्याउने गरी निर्दिष्ट स्थानमा पु¥याउन लाग्ने बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र मालवस्तुधनीलाई दिई त्यस्तो मालवस्तु लैजान अनुमति दिनु पर्नेछ ।
(४) कुनै विदेशी मुलुकमा पैठारी गर्न निषेध गरिएका मालवस्तु त्यो मुलुकको बाटो गरी नेपालको एक भागबाट अर्को भागमा ल्याउन परेमा नेपाल र सो मुलुक बीच पारवहन सम्बन्धमा कुनै सन्धि वा सम्झौता भएको रहेछ भने मालवस्तुधनीले त्यस्तो सन्धि वा सम्झौता अन्तर्गतको स्वीकृत कार्य प्रणालीको रीत पुर्‍यार्ई लैजानु पर्नेछ ।
(५) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (३) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको मालवस्तु तथा ढुवानी सम्बन्धी कागजात पैठारी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिडाउदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो मालवस्तु पैठारी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति संलग्न गरी निकासी गर्न अनुमति दिने भन्सार कार्यालयलाई तीन दिनभित्र जानकारी पठाइदिनु पर्नेछ । तर निकासी गर्न अनुमति दिएको भन्सार कार्यालयले दिएको प्रज्ञापनपत्र मालवस्तु पैठारी हुने भन्सार कार्यालयमा दाखिला नभएमा पैठारी वापतको महसुल धरौटी लिएर मात्र मालवस्तु पैठारी गर्न दिनु पर्नेछ ।
(६) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (५) बमोजिम जानकारी प्राप्त भै धरौटी फिर्ता वा लगत कट्टा गरिदिन हुने अवस्था देखेमा धरौटी फिर्ता वा लगत कट्टा गरिदिनु पर्नेछ ।
तर निकासी गर्न अनुमति दिइएको मालवस्तु आंशिक रूपमा मात्र पैठारी भएको देखिएमा पैठारी नभएको मालवस्तुको लाग्ने भन्सार महसुल धरौटी रकमबाट कट्टा गरी असुलउपर गर्नु पर्नेछ । कुनै मालवस्तुको लाग्ने महसुलको लगत राखी मालवस्तु छाडेको भए सो महसुल सात दिनभित्र असुलउपर गर्नु पर्नेछ ।